कस्तो हुनुपर्छ चाडबाडको खानपान ? के कुरामा ध्यान दिने ?

image 1

कस्तो हुनुपर्छ चाडबाडको खानपान? के कुरामा ध्यान दिने ?

चाडबाड भन्नेबित्तिकै खानपानलाई प्राथमिकता दिने हामी सबैको चलन छ। यस्तो बेला परिवार, आफन्त जमघट हुने हुँदा मिठा–मिठा परिकार पकाएर खुवाइन्छ, खाइन्छ। विशेषगरी, मासु, मदिरा र चिल्लो बढी भएका खानपान बढी हुने हुँदा चाडबाडका बेला अस्पताल पुग्ने बिरामीको संख्या पनि बढी हुने गरेको छ।

दशैंका बेला सजिलोका लागि एकै पटक मासु ल्याएर फ्रिजमा राख्ने र त्यसैलाई झिकेर पकाउने गरिन्छ। अथवा, भुटेर, तारेर, पक्कु–कबाब बनाएर फ्रिजमा राखेर खाने चलन छ। तर, फ्रिजमा चिसो बनाएर राखेको खानेकुरालाई बारम्बार बाहिर निकाल्दै, राख्दै गर्नु ठीक होइन। यसो गर्दा एक त मासुको पोषक तत्व घट्ने हुन्छ भने अर्कोतिर स्वास्थ्यमा समस्या निम्तन सक्छ। फ्रिजको चिसोमा राखेको खानालाई तत्काल तताउनुपर्छ।

मासुमा भिटामिन बी १२, जिंक, फोलिक एसिड, आइरन लगायतका पोषक तत्व हुन्छ। त्यसैले मासु सन्तुलित रुपमा खाने हो भने स्वास्थ्यलाई फाइदा हुन्छ। अन्यथा, त्यसले असर गर्छ।  रातो मासुले मिर्गौला, बाथ, उच्च रक्तचाप, युरिक एसिड, उच्च कोलेस्टेरोल भएका बिरामीलाई नराम्रो असर गर्न सक्छ। त्यसैले यस्ता बिरामीले सकेसम्म त रातो मासु खानै हुँदैन। खानै परे थोरै मात्रामा कुखुराको मासु  खान सकिन्छ। नुन धेरै हालिएको खानेकुरा पनि खानुहुँदैन। रातो मासु र चिल्लो दुवै रक्तचापका बिरामीका लागि हानिकारक हुन्।

स्वस्थ व्यक्तिले पनि मासु खाँदा तरकारी बढी खाने, सलादका रुपमा काँक्रो, गाँजर, मुला खाने गर्नुपर्छ। चाडबाडका बेला शारीरिक अभ्यासमा पनि ध्यान दिनुपर्छ।

यस्तै, चाडबाडका बेला पेटमा बढी समस्या निम्तन्छ। चिल्लो बढी र अनियन्त्रित खानपानले ग्यास्ट्रिक बढ्ने, अपच, झाडापखाला तथा कब्जियत हुने, कोलेस्टेरोल बढ्ने र कलेजोमा बोसो जम्ने जस्ता समस्या आउँछन्।

चाडबाडका बेला सुगर, कोलेस्टेरोल, रक्तचाप, युरिक एसिडका समस्या लिएर अस्पतालका पुग्ने बिरामीको संख्या धेरै हुन्छ। यसैले अस्पताल पुग्ने अवस्था निम्तन दिनुभन्दा पहिल्यै सचेतता अपनाउनु उचित हुन्छ। कतिपय उच्च रक्तचाप, मुटु, मिर्गौला, सुगरका बिरामीहरुले चाडबाडको बेला छ, पहिले खाऔं, अनि अस्पताल जाउँला भनेर हेलचेक्र्याइँ गरेको पनि पाइन्छ। यसो गर्दा इमर्जेन्सी रुपमा अस्पताल पुग्नुपर्ने हुन सक्छ। यसो गर्नुहुन्न।

चाडबाडका बेला कलेजोको समस्या पनि निम्तन सक्छ। यस्तो बेला मदिरा, बोसोयुक्त मासु र चिल्लो खाना बढी खाने गरिन्छ। ती सबैलाई पचाउने काम कलेजोको हो। तर, यी सबै चिज एकै पटक खाँदा कलेजोले  जोडतोडका साथ काम गर्नु पर्ने भएकाले बोसो जम्मा हुँदै जान्छ,  जुन रक्तनली र मुटुसम्म जम्मा हुन सक्छ। जसको परिणाम कलेजो फेलसम्म हुने भएकाले यस्ता खानपानमा नियन्त्रण गर्नुपर्छ। कलेजोका बिरामीले मदिरा त छुनै मिल्दैन। राम्रो प्रोटिनको स्रोत भएकाले लिभर सिरोसिस भएका बिरामीलाई रातो मासु खाने सल्लाह दिइन्छ,। तर, कलेजोको रोग कुन चरणमा छ, त्यसमा भर पर्छ कति खाने भनर।

यस्तै, सुगरका बिरामीले चिनी र चिनीबाट बनेका परिकार, आलुको अचार, बोसो भएको मासु, मह, केक, हर्लिक्स, आइसक्रिम, तेलमा  तारेका खाना खानुहुँदैन। धूमपान र मद्यपान त गर्नैहुँदैन। बरु, थोरै मात्रामा चामल, गहुँ, मकै, फाफर, कोदो, जौ, चिउरा, गेडागुडी, फलफूल खानु पर्छ। मासु तथा अण्डा नियन्त्रित रुपमा अलिकता खान सकिन्छ। सुगरका बिरामीले हरिया सागसब्जी, सलाद, काँक्रो, मुला, कुरिलो, पालुंगो, कागती खान मिल्छ।

मुटुका बिरामीले पनि रातो मासु खानुहुन्न। मासु पकाउँदा एक त चिल्लो बढी प्रयोग गरिन्छ भने अर्कोतिर छाला तथा बोसोले कोलेस्टेरोल बढ्ने भएकाले मुटुको समस्या पनि बढ्ने हुन्छ। यस्तै, मासुका साथ भात तथा चिउरा बढी खाने, मदिरा सेवन गर्ने हुनाले यसले मधुमेह, रक्तचाप तथा मुटुका बिरामीलाई असर गर्छ। त्यसैले मुटुका बिरामीले रातो मासुबाहेक धूमपान तथा मदिरा सेवन गर्नुहुँदैन। नुनु धेरै खानुहुन्न। बरु केही टुक्रा सेतो मासु र प्रशस्त मात्रामा हरियो सागसब्जी तथा फलफूल खानुपर्छ। जथाभावी खानपान, चिल्लो खाना, मद्यपान र धूमपानले मुटुको चाल अनियमित गर्ने भएकाले यस्ता चिजमा नियन्त्रण गर्नुपर्छ।

मिर्गौलाका बिरामीले पनि सकेसम्म रातो मासु सेवन गर्नुहुन्न। डायलिसिसमा नभएका बिरामीलाई तौलको हिसाबले कति प्रोटिन दिने भनेर तय गरिन्छ र कुन कुन स्रोतबाट प्रोटिन दिने भनेर हिसाब गरिन्छ। त्यसैले मिर्गौलाका बिरामीले दिनहुँ रातो मासु सेवन नगरेको राम्रो, कहिलेकाही खाएको छ भने एक–दुई टुक्रा मासु हप्तामा एक पटक या बढीमा दुई पटकसम्म खान मिल्छ।

आजकाल मानिसहरुको बदलिँदो जीवनशैलीका कारण विगतमा ५० वर्षको उमेरमा देखिने रोग आजकाल २० वर्षकै उमेरमा देखिन थालेको छ। शारीरिक अभ्यास हुन छाडेको छ। त्यसैले चाडबाडका बेला मात्र होइन, सामान्य अवस्थामा पनि  खानपानमा सजग र सचेत हुनैपर्छ।

(प्रनिति सिंह नर्भिक इन्टरनेशनल अस्पतालका डाइटिसियन हुन्) DT. Praniti SinghNorvic International Hospital

News Source – Swasthya khabar

News Source – Health Aawaj

News source – Nepali Health

News source – Mero Chitwan

Leave a Comment

Your email address will not be published. Required fields are marked *

calculator